₨ 500.00
गोर्खाली वीरता र शासकीय चाकरी
यस पुस्तक गोर्खालीमाथि लेखिएका धेरैवटा पुस्तकहरुको अधोपान्तपश्चात लेखक आफैले बाँचेको देश, काल र परिस्थितिको अनुभव, अध्ययन र मुल्यांकन सम्मिलित परिष्कृत संकलन हो । यहाँ एक चेतनशील लेखकले स्वैरकल्पनामा डुबेरभन्दा यथार्थको धरातलमा उभिएर, गोर्खालीको गुणमात्र हैन, नकारात्मक पक्ष पनि उजागर गरेर र गोर्खालीको बलियो पक्षमात्र हैन, कमजोरी पनि नियालेर सन्तुलित ढंगबाट आफुलाई प्रस्तुत गर्ने जमर्को गरेको छ । निसन्देह, २०८ बर्षको ईतिहास र सन्दर्भ करिब ४०० पेजभित्र अट्न गाह्रो हुन्छ नै, त्यसैले गोर्खालीका सबै कुरा यसभित्र अटेको छ भन्ने मेरो जिकिर छैन तर एक स्वतन्त्र बौद्धिक लेखक (जो हिजो एक गोर्खा थिए) ले आफ्नो विरासतभित्र चियाएर त्यसभित्रको आफ्नो अन्तर्दृष्टि पस्कनु निश्चय नै सराहनीय कार्य हो । (साहित्यकार क्याप्टेन जगतराम राई “नवोदित” को पुस्तकसम्बन्धि भनाईको एक अंश)
Description
डा. प्रेम आले ब्रिटिश गोर्खा रेजिमेन्टबाट सन् २०१६ को अन्त्यतिर मेजर पदबाट अवकाश भएका हुन् । डा. आलेसित पल्टने जीवनमा रहँदा विभिन्न पदमा रही काम गरेको अनुभव छ । अहिले उनी ब्रिस्टोल युनिभर्सिटीको अफिसर्स ट्रेनिङ कोरमा प्रमुख प्रबन्धकको रूपमा कार्यरत छन् । अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीबाट विद्यावारिधि गरेका डा. आलेले यसअघि ‘संघर्षः आशपुरदेखि क्याप्टेन साहेबसम्म (आत्मवृत्तान्त, सन् २०२२) मा प्रमुख सम्पादकको भूमिका निभाएका छन् ।
…प्रथम विश्वयुद्धताका पटकपटक गरेर झण्डै १६,५०० नेपाली सेनाले ब्रिटिशको पक्षमा लडेका थिए । तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रसमशेर जबरा पनि ब्रिटिशप्रति अत्यन्त अनुगृहीत थिए । त्यस्तै दोस्रो विश्वयुद्धमा पनि झण्डै ८,००० नेपाली सेनाले बर्मिज फ्रन्टमा जापानी दुस्मनविरुद्ध लडेका थिए । ‘यो आफ्नो शासन लम्ब्याउने नेपाली शासकहरूको गुलामी थियो कि देशहितका लागि गरेको कुटनीति थियो ? जे होस्, नेपाली तथा गोर्खाली सेनाका कारण नेपाली भूमिमा इस्ट इन्डिया कम्पनीका बुट्स बजारिनबाट रोकिएको चाहिँ पक्कै हो ।…’ (‘नेपाली सेनाको इतिहास र योगदान’ शीर्षकको एक अङ्श)
… ब्रिटिश फौजमा जस्तै भारतीय फौजमा पनि गोर्खाली कुनै फौजभन्दा कमी छैन । यसबाट पनि पुष्टि हुन्छ कि साहसीपन, वीरता र अनुशासन गोर्खालीको रगतमा हुन्छ, न कि यी गुणहरू अरू कसैले गोर्खालीहरूमा जबर्जस्त भरिदिएको हो । चाहे ती नेपाली फौजका गोर्खाली हुन् या सिंगापुर या ब्रुनाईका गोर्खाली हुन्, उनीहरू सबैमा यी गुणहरू निहित हुन्छन् । अब यसलाई प्रमाणित गरिरहनुपर्दैन ।…’ (भारतीय फौजका गोर्खालीहरू शीर्षकको एक अङ्श)
… छाती नपाएर ‘लाहुरे’ बनेकाहरू हुन् वा अन्य पेसामा बाहिरिएका लाहुरेहरू हुन्, उनीहरूले कमाएर पठाएको पैसाले देशको अर्थतन्त्रलाई मजबुत बनाएको कुरामा दुईमत छैन । तर देशको दक्ष युवा जनशक्तिलाई विदेश जान बाध्य गराएर नेपालले बोकेको आर्थिक समृद्धिको सपना पूरा हुन सक्दैन ।’ ‘यो यथार्थलाई हृदयङ्गम गरी ‘नयाँ नेपाल’ निर्माण गर्नका लागि समस्त नेपालीहरूले काँधमा काँध मिलाउनुपर्छ । अनि देशको नेतृत्व वर्गले पनि सबैलाई समेटेर लैजानका लागि कदम चाल्न ढिलो गर्नुहुँदैन ।…’ (‘लाहुरे प्रथाले राष्ट्रियता बलियो बन्ला ?’ शीर्षकको एक अङ्श)