पुस्तकःविद्यार्थी विधाता
लेखकः दामोदर न्यौपाने
नेपाली लेखनमा नयाँ आयाम: पहिलो उत्प्रेरणात्मक विद्यार्थी, शिक्षक र अभिभावकका लागि एक मार्गचित्र

– पुस्तक समिक्षा
नेपाली साहित्यमा बालबालिकाका लागि कथा, कविता र चित्रकथाका पुस्तकहरू प्रशस्तै लेखिएका छन्। तर, कक्षा 8 देखि १२ सम्मका विद्यार्थीहरू (१२ देखि १८ वर्ष उमेर समूह), जो जीवनको सबैभन्दा चुनौतीपूर्ण र संवेदनशील ‘किशोरावस्था’ मा हुन्छन्, उनीहरूका लागि लक्षित गरी उत्प्रेरणात्मक (Motivational) पुस्तकहरूको सधैँ अभाव खट्किएको थियो। यही अभावलाई चिर्दै बजारमा एउटा यस्तो कृति आएको छ, जसलाई नेपाली लेखनमा बालबालिकाको उत्प्रेरणाका लागि लेखिएको सम्भवतः पहिलो र पूर्ण पुस्तक मान्न सकिन्छ।
एक पूर्ण शैक्षिक मार्गचित्र
यो पुस्तक केवल विद्यार्थीका लागि मात्र होइन, बरु शिक्षाका तीनवटै मुख्य आधार—शिक्षक, विद्यार्थी र अभिभावक—ले पढ्नै पर्ने गरी तयार पारिएको छ । यसलाई एउटा ‘त्रिकोणात्मक सान्दर्भिक पुस्तक’ भन्नु उचित हुन्छ। अभिभावकका लागि सन्तानको मनोविज्ञान बुझ्ने, शिक्षकका लागि विद्यार्थीलाई सही मार्गदर्शन गर्ने र विद्यार्थीका लागि आफ्नो क्षमता पहिचान गर्ने यो एउटा साझा मञ्च हो विद्यार्थी विधाता भन्दा अनुपयुक्त नहोला।
विषयवस्तु: पौराणिक जग र आधुनिक चिन्तनको सङ्गम
पुस्तकको सबैभन्दा सुन्दर पक्ष यसको प्रस्तुति शैली हो। लेखकले विद्यार्थीलाई कुनै पनि कुरा बुझाउन सुख्खा उपदेशको सहारा मात्र लिएका छैनन्। बरु, हरेक विषयलाई हाम्रै नेपाली पौराणिक कथाहरू र लोक सन्दर्भहरूसँग जोडेका छन्। यसले विद्यार्थीलाई आफ्नो माटो र संस्कृतिसँग जोड्न मद्दत गर्छ। त्यस्तै, ती कुराहरूलाई थप स्पष्ट पार्न विश्वप्रसिद्ध चिन्तक र दार्शनिकहरूका भनाइ पनि उत्तिकै सान्दर्भिक रूपमा प्रस्तुत गरिएको छ। यो ‘पूर्व र पश्चिमको ज्ञान’ को अनौठो सङ्गम हो।
पढ्न मन नलाग्ने समस्याको व्यावहारिक समाधान
धेरै विद्यार्थीको साझा गुनासो हुन्छ— “पढ्न त खोज्छु तर मनै लाग्दैन।” पुस्तकको खण्ड १ र २ ले ठ्याक्कै यही समस्याको जडलाई समातेको छ। यसमा पढ्ने बानी कसरी बसाल्ने, ‘पढाइमा आत्म-प्रेरणाको जग’ कसरी हाल्ने र ‘सोचको शक्ति’ लाई कसरी बदल्ने भन्ने बारेमा स्पष्ट विधि र प्रक्रियाहरू दिइएको छ। ‘दश मिनेटको जादु’,पोमोडोरो जस्ता व्यावहारिक सूत्रहरूले काम वा पढाइ सुरु गर्न नसक्ने (Procrastination) समस्यालाई तोड्न मद्दत गर्छन्।
मानसिक स्वास्थ्य र अनुशासन
किशोरावस्थामा हुने मानसिक दबाब, परीक्षाको डर र अरूसँग गरिने तुलनाले विद्यार्थीलाई कति असर गर्छ भन्ने कुरालाई पुस्तकले गम्भीरतापूर्वक केलाएको छ। खण्ड ४ र ५ मा ‘परीक्षाको डरलाई ऊर्जामा बदल्ने सूत्र’ र ‘निद्रा र पोषण’ को महत्त्वलाई अध्ययनसँग जोडिएको छ। यसले विद्यार्थीलाई केवल अंक ल्याउने मेसिन नभई एउटा सन्तुलित र स्वस्थ व्यक्तित्व बनाउन प्रेरित गर्छ।
एआई (AI) खण्ड: एक आलोचनात्मक बहस
यस पुस्तकको अन्तिम खण्डमा आधुनिक प्रविधि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (AI) लाई समेटिएको छ। लेखकले यसलाई ‘आधुनिक सारथी’ को रूपमा प्रस्तुत गर्दै अध्ययन र अनुसन्धानमा यसको प्रयोग गर्न सकिने देखाएका छन्। यद्यपि, एक पाठकको दृष्टिले हेर्दा यो खण्ड केही चुनौतीपूर्ण र विवादास्पद लाग्न सक्छ। ११-१८ वर्षका कलिला विद्यार्थीहरूलाई एआईको प्रयोग सिकाउँदा उनीहरूको मौलिक सोच, सिर्जनशीलता र ‘डीप वर्क’ गर्ने क्षमतामा ह्रास आउने जोखिम रहन्छ। प्रविधिमा धेरै निर्भरताले कतै विद्यार्थीलाई ‘सजिलो बाटो’ खोज्ने अल्छी त बनाउने होइन? यो विषयमा पाठक र अभिभावकहरूले सतर्कतापूर्वक सोच्न जरुरी देखिन्छ । लेखक आफैले यस सन्दर्भमा पुस्तक भित्र समकालीन विश्वका ‘बौद्धिक सुपरस्टार‘ (Public Intellectual) का रूपमा चिनिने लेखक तथा प्रोफेसर नूम चोम्स्की,युभल नोआ हरारि लगायत अन्य वैश्विक शिक्षाविद्का दृष्टिकोण पनि स्पष्ट ढङ्गले प्रस्तुत गरेका छन् । जहाँ एआई प्रयोगका सन्दर्भमा मिश्रित विचारहरू उल्लेख छन् ।
निष्कर्ष
समग्रमा, नेपाली गैर-आख्यान बाल लेखनको क्षेत्रमा यो एउटा साहसिक र ऐतिहासिक कदम हो। बालबालिकाको उत्प्रेरणाका लागि नेपाली भाषामै यति विस्तृत र व्यावहारिक सामग्री पहिलो पटक उपलब्ध भएको छ। मोबाइलको लत, पढाइमा अरुचि र दिशाहीनताको बीचमा रुमल्लिरहेका विद्यार्थीहरूका लागि यसले एउटा स्पष्ट ‘रोडम्याप’ प्रदान गर्छ। पौराणिक कथाको मिठास र आधुनिक सूत्रहरूको मिश्रणले यसलाई निकै रोचक बनाएको छ। केही प्रविधिको प्रयोगमा सावधानी अपनाउन सकेमा यो पुस्तक हरेक विद्यार्थीको हातमा, अभिभावकको घरमा र हरेक विद्यालयको पुस्तकालयमा हुनुपर्ने एक अनिवार्य कृति हो।

-रविन खड्का