₨ 350.00
को हुन् लेखक ?
लेखक इमन बट्लर ब्रिटिस अर्थशास्त्री हुन् । उनी एडम स्मिथ इन्स्टिच्युटका सहसंस्थापक र निर्देशक हुन् I यो संस्था बजार आर्थिक नीतिसम्बन्धी बेलायतको प्रमुख थिंकट्यांक पनि हो । सेन्ट एन्ड्रयु विश्वविद्यालयबाट अर्थशास्त्र र मनोविज्ञानमा स्नातकोत्तर गरेका उनले विद्यावारिधि पनि सोही विश्वविद्यालयबाट पूरा गरेका हुन् । सन् २०१२ मा उनले हेरियट–वट विश्वविद्यालयबाट मानार्थ डक्टर इन लिटरेचर प्राप्त गरे ।
उनले सन् १९७० मा अमेरिकको हाउस अफ रिप्रेजेन्टेटिभ्समा पेन्सन र कल्याणकारी मुद्दाहरूमा काम गरेका थिए ।
बजार अर्थतन्त्रलाई अगाडि बढाउन गरेका कामको मूल्यांकन गर्दै उनलाई ‘यूके नेसनल फ्री इन्टरप्राइज अवार्ड’, ‘फ्रिडम मेडल अफ फ्रिडम्स फाउन्डेसन’जस्ता अवार्ड दिइएको छ । अर्थशास्त्री एडम स्मिथको प्रतिमा निर्माणका लागि उनले आयोग बनाएर कोष जुटाएका थिए, स्मिथको प्रतिमा एडनबर्गको हाई स्ट्रिटमा राखिएको छ । बट्लरले दुई भागको ऐतिहासिक वृत्तचित्र ‘सेक्रेट्स अफ द म्याग्ना कार्टा’ पनि निर्माण गरेका छन्, जुन आन्थेम फिल्म फेस्टिभलमा पुरस्कृत भएको थियो । उनको किताब ‘फाउन्डेसन्स अफ अफ्री सोसाइटी’ले भने फिसर प्राइज पाएको छ ।
एडम स्मिथ, मिल्टन फ्रिडम्यान, एफए हायेक र लुडविग भान मिजेसका विचार समाविष्ट पुस्तक उनले निकालेका छन् । शास्त्रीय उदारवाद, जनचाहना, पुँजीवाद, प्रजातन्त्र, व्यापार, अस्ट्रियन स्कुल अफ इकनोमिक्स र महान् उदार विचारकबारे प्रारम्भिक पुस्तिका पनि छ । उनी ‘दि कन्डेन्स्ड वेल्थ अफ नेसन्स’ र ‘दि बेस्ट बुक अन दि मार्केट’ जस्ता कैयौं पुस्तकका लेखक हुन् । ‘फोर्टी सेन्चुरिज अफ वेज एन्ड प्राइस कन्ट्रोल्स’ र अनेक भागमा प्रकाशित आईक्यू पुस्तकका उनी सहलेखक हुन् । अर्थशास्त्र, मनोविज्ञानदेखि राजनीतिसम्म विभिन्न विषयमा पुस्तक लेखेका ७२ वर्षीय बट्लर एक चर्चित लेखक हुन् । ‘द टाइम्स’, ‘द गार्जियन’ र ‘द डेली टेलिग्राफ’मा उनका लेखहरू प्रकाशित छन् ।
Description
अर्थशास्त्री बट्लरको ‘व्यापार तथा भूमण्डलीकरण’ नेपालीमा
काठमाडौँ I अन्तर्राष्ट्रिय व्यापारले उपभोक्ता तथा उत्पादकका रूपमा हाम्रो जीवनशैलीलाई प्रभावित बनाएको छ । व्यापारमा अवरोध नआएसम्म र उपलब्ध उत्पादन/सामानको अभाव नभएसम्म हामीलाई अरू देशमाथिको निर्भरताबारे गहिरो गरी थाहा हुँदैन ।
ब्रिटिस अर्थशास्त्री इमन बट्लरको पुस्तक ‘व्यापार तथा भूमण्डलीकरण’ले यस्तै विषयमा बहस गर्छ । अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्त, अर्थशास्त्र र राजनीतिका बारेमा जानकारी दिने यो पुस्तक नेपालीमा अनुवाद भई प्रकाशनमा आएको छ । पुस्तकको अनुवादक सुरथ गिरी हुन् । यो इन्स्टिच्युट अफ इकोनोमिक अफेयर्स लन्डनले सन् २०२१ मा प्रकाशन गरेको ‘एन इन्ट्रोडक्सन टु ट्रेड एण्ड ग्लोबलाइजेशन्’ को नेपाली अनुवाद हो । समृद्धि फाउन्डेकशनसँगको सहकार्यमा यस पुस्तकलाई वी रिडले प्रकाशन गरेको छ । प्रकाशन संस्थाले बजारमा पुस्तक उपलब्ध भएको जानकारी पनि दिएको छ I
अन्तर्राष्ट्रिय व्यापार अझ गहन र विस्तार भइरहेको छ । अन्तर्राष्ट्रिय व्यापारको सही बुझाइ सुनिश्चित गर्नु असल अर्थशास्त्रको विषय मात्र नभएर विश्वभरिका मानिससँग हामी कसरी शान्तिपूर्वक सहकार्य गर्छौं भन्ने पनि हो । यो पुस्तकले स्वतन्त्र व्यापारको आर्थिक पक्षलाई स्वीकारेको छ । साथै, स्वतन्त्र व्यापारका आलोचकहरूले व्यक्त गर्ने रोजगारीका अवसर विदेसिने, सुरक्षा खतरा तथा कम गुणस्तरका आयात हुन सक्नेजस्ता चासोका विषयलाई पनि केलाएको छ । तसर्थ अन्तर्राष्ट्रिय अर्थतन्त्रका आधारभूत सिद्धान्त र व्यापारका संरचना साथै व्यवस्थापनसम्बद्ध सार्वजनिक बहसमा रुचि राख्नेहरूका लागि पुस्तक रुचिकर हुनसक्छ । सरल भाषामा अनुवाद गरिएकाले अर्थशास्त्रमा रुचि राख्ने विद्यार्थीका लागि पनि यो उपयोगी बन्न सक्छ ।
यसमा अन्तर्राष्ट्रिय कम्पनीको भूमिका तथा स्वतन्त्र व्यापारको नैतिकताका साथै व्यापार अवरोधका विषयमा चर्चा छ । ढुंगेयुगको व्यापारदेखि विश्वव्यापी मूल्य शृङ्खला र बहुराष्ट्रिय कम्पनीहरूको शक्तिबारे पनि अध्ययन गरिएको पुस्तक निकै रोचक र ज्ञानवर्धक छ ।